काठमाडौं, असोज ३० । महिला तथा समाजमा पिछडिएका वर्गको समष्टिगत उत्थानका लागि नवीकरणीय ऊर्जा प्रविधि उपयोग गर्नेबारे राजधानीमा छलफल भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसंघद्वारा आयोजित कार्यक्रममा मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि क्रियाशील विज्ञ, महिला र परिसंघ सम्बद्धको सहभागिता रहेको थियो ।

उक्त अवसरमा डा. इन्दिरा शाक्यले कतिपय अवस्थामा नीतिको भावना अनुसार कार्यान्वयन हुन नसकेकाले महिलाहरु र पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न चेतनामूलक कार्यक्रमको आवश्यक देखिएकाले उपलव्ध साधन र स्रोत परिचालन गर्न र प्रभावकारी दबाब सिर्जना गर्न एउटा सञ्जाल बनाउन सुझाव दिइन । त्यस्तै सेवा नेपालका अध्यक्ष कल्याणी साहले व्यवसायी र संघसंस्थाहरुको ऐक्यबद्धताबाट महिला र पिछडिएका वर्गको उत्थानका लागि उपयुक्त वातावरण तयार पार्न पहल गर्नु उपयुक्त हुने राय व्यक्त गरिन । नवीकरणीय ऊर्जा विज्ञ कविता राईले तथ्यांक र अभिलेख उपलब्ध नहुँदाको अवस्थामा कार्यक्रमहरु प्रभावकारी नहुने भएकाले अध्ययन अनुसन्धान र अभिलेख बारे पनि गम्भीर हुनुपर्ने धारणा राखिन ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, नेपाल जल तथा ऊर्जा परामर्शदाता संघ र फोरम अफ रिन्युवाबल इनर्जी एसोसिएसन नेपाल, बायोग्यास सपोर्ट प्रोग्राम नेपाल र रिमरेक जस्ता संस्था नवीकरणीय ऊर्जा परिसंघमा आबद्ध छन् ।