वन जङ्गलमा खेर  गइरहेको झारपातलाई प्रयोग गरी बायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट बायो ब्रिकेट र कोइला  उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इण्टरकोअपरेशन नेपालअन्तरगत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो । जाडोयाममा कोठा न्यानो बनाउन र इँटा भट्टामा इँटा पोल्नका लागि प्रयोग गरिने वायो ऊर्जा उत्पादनबाट स्थानीयले रोजगारसमेत पाएका छन् । अत्तरपुर ८ की सपना श्रेष्ठ बिहान बच्चाबच्चीलाई विद्यालय पठाएर घरको धन्दा सकेर १२ बजेतिर ब्रिकेट बनाउन आउँछिन्  । दिनभरि विक्रेट बनाउँदा उनलाई दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गर्दछ । यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक रू. पाँच÷सात सय आम्दानी गर्छिन् ।  

उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २ सय भन्दा बढी मानिसले रोजगारी पाएका छन् । शुरूमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘शुरूका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।’

उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरी ब्रिकेट उत्पादन हुने गरेको छ ।
धसिङ्ग्रे ब्रिकेट उद्योगका अध्यक्ष शशीकुमार शाक्य ब्रिकेट उत्पादनबाट एक सिजनमा  एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘सरकारी क्षेत्रबाट यस्तो काममा सहयोग हुने हो भने धेरै युवाले रोजगार पाउने थिए ।’

हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउँछन् । हिमालयन नेचुरल प्रालिका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सरकारले सहयोग गरे  २० हजार सिलिण्डर बराबरको वायोमास उत्पादन गर्न सक्ने बताए ।

हिमालय नेचुरल प्रालिले हाल  भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रे जिल्लामा वायोमास उत्पादन गरिरहेको छ । जसको माध्यामबाट एक हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ । जसमध्ये ४० प्रतिशत महिला रहेका छन् ।  सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउँछन् । सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस